आगामी भदौमा महाधिवेशन गर्न काङ्ग्रेसको तयारी

HTV Khabar ९ चैत्र २०८२, मङ्गलबार ०३:३८ मा प्रकाशित

काठमाडौं,  नेपाली काङ्ग्रेसले आगामी भदौ अन्तिम साता १५औं महाधिवेशन गर्ने तयारी गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आगामी २४, २५, २६ भदौमा काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव लैजाने कार्यतालिका छ। जसका लागि क्रियाशील सदस्यता वितरण र २१ चैतदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने तयारी छ।

१ वैशाखदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने, प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्नेछ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाइ सक्नुपर्ने छ भने १५ असारसम्म केन्द्रले  सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी काङ्ग्रेसको छ।

२७ देखि ३० पुससम्म काठमाडौंमा काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशन भएको थियो। सो महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो।

लगत्तै १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विशेष महाधिवेशन विधानविपरीत आयोजना गरिएको भन्दै आयोग पुगेको थियो।

आयोगले दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको काङ्ग्रेसलाई मान्यता दिएको थियो।