बन्दरगाहमा नेपालको पहुँच बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

HTV Khabar २८ पौष २०८१, आइतबार ११:१३ मा प्रकाशित

काठमाडौ,  नेपाल-भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ।

बैठकमा दुई देशका प्रतिनिधि सहभागी थिए। बैठकमा सहभागीहरूलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताए।

सो अवसरमा उनले गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानको लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका शहर जोडने र नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासको लागि आवश्यक विस्फोटक पदार्थ सहज आपूर्ति आवश्यक भएको बताए।

यस्तै उनले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरु (मुम्बई) लगायतका बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषय उठान गरे।

नेपाल भारत वाणिज्य सचिव स्तरीय बैठककै अंगका रूपमा रहेको जेबिएफमा दुई देशका प्रतिनिधिहरूले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायतका विषयहरूमा छलफल गरेका थिए।

संयुक्त बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायतका परियोजनामा सहकार्यमा जोड दिइएको छ। पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानीलगायतका विषयमा छलफल गरी सहजीकरण गर्ने सहमति भएको छ।

सो अवसरमा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। दोस्रो बैठकमा भएका सहमतिका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ। भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्द बहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले हस्तान्तरण गरेका हुन्।