धनुषामा तस्कर र प्रहरीबीच झडप

HTV Khabar २२ श्रावण २०८२, बिहीबार ०८:४३ मा प्रकाशित

काठमाडौं, भारतबाट अवैध रूपमा ल्याइएको तस्करीको सामान नियन्त्रणमा लिने क्रममा धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैंचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।

साउन २१ गते साँझ सवा ८ बजेतिर झडप भएको हो । भारतबाट ल्याइएका तस्करीका सामग्री नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले प्रयास गर्दा स्थानीयवासी र तस्कर समूह आक्रोशित बनेर ढुंगामुढा गरेका थिए।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एसएलआरबाट चार राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

झडपपछि केही स्थानीयले तस्करीका सामग्री लुकाएको भए पनि प्रहरीले एउटा मोटरसाइकलसहित केही सामान बरामद गर्न सफल भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।