१६५ क्षेत्रमै उम्मेदवार उठाउने आत्मविश्वास किन नराख्ने ? - महामन्त्री गगन थापा

HTV Khabar ४ भाद्र २०८१, मङ्गलबार ०६:२१ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को चुनावमा प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने आत्मविश्वास पार्टीसँग हुनुपर्ने बताएका छन्।

रुपन्देहीको भैरहवामा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले प्रतिनिधि सभाका १६५ क्षेत्रमा कांग्रेसले चुनावी तालमेल नगरी उम्मेदवार हुनुपर्ने बताए। थापाले भने, ‘१६५ निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाउँछ। ४० प्रतिशत भन्दा बढी मत ल्याएर पाँच वर्ष एक्लै सरकार चलाउँछ। त्यति आत्मविश्वास नराख्ने ?’

कांग्रेस कार्यकर्ताले पार्टीमाथि लागेका आरोप चिर्न नसकेको भन्दै उनले आरोप चिर्न नसके यो गठबन्धन भ्रष्टाचारीलाई ढाकछोप गर्न बनेको भन्ने भाष्य निर्माण हुन सक्ने टिप्पणी गरे। सम्बन्धित पार्टी संरचनालाई तत् स्थानको उम्मेदवार छान्ने अधिकार दिनुपर्ने विकल्पमा पार्टीभित्र छलफल गर्नुपर्ने महामन्त्री थापाले बताए।

‘विधानको अनुभवबाट जे बदल्नुपर्ने हो बदलौं। पार्टीभित्रका समस्या हल गर्ने प्रयास गरौं,’ थापाले भने। सबै भ्रातृ संस्थालाई व्यवस्थापन गर्ने गरी भोलि वा पर्सिसम्ममा पार्टीबाट निर्देशक समिति बनाउने थापाले जानकारी गराए।