काठमाडौं, भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मर्स्याङ्दी नदी किनारमा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेसँग भेट गरेकी छन्।
शुक्रवार भारतीय पर्यटक सवार बस बिहान करिव साढे ११ बजे तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहरा नजिक सडकमा अनियन्त्रित भई मर्स्याङ्दी नदी किनारामा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
सो घटनापछि शनिवार नेपाल आएकी भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएकी हुन्। घाइतेको अवस्था जानकारी लिएसँगै उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखक र सुरक्षा निकायका अधिकारीहरुसँग भेट गरेकी छन्।
उनले घाइतेहरुको उपचारमा चिकित्सकहरुले देखाएको सक्रियताको प्रशंसा गरिन्। ‘दुर्घटनामा परेर केही मेरै आफन्तको पनि मृत्यु भएको छ’, उनले भनिन्, ‘उद्दारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद।’
गृहमन्त्री लेखकले नेपालले सम्भव भएसम्म छिटो उद्दार गरेको बताए। ‘हामीसँग कुरा गर्दा उहाँले नेपाल सरकारले अत्यन्त चाँडो रेस्क्यु गरिदिनुभयो। नेपाल सरकार, रेस्क्युमा संलग्न भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले राम्रो काम गरेर केही मान्छेहरु बाँच्नुभयो भनेर उहाँले प्रशंसा नै गर्नुभयो’, उनले भने।
युवा राज्यमन्त्री खड्सेले बिरामीहरुसँगै उपचारमा संलग्न चिकित्सकहरुसँग पनि कुराकानी गरेकी थिइन्। अब राज्यमन्त्री खड्से चितवन जाने र त्यहाँबाट शुक्रवार दुर्घटनामा मृत्यु भएका आफ्ना नागरिकको शव लिएर जाने गृहमन्त्री लेखकले जानकारी दिए। परीक्षणपछि शवहरु भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ।
