विस्तारा एयरको सेवा पूर्णरुपमा बन्द आजबाट एयर इण्डियाको कमाण्ड

HTV Khabar २७ कार्तिक २०८१, मङ्गलबार ०६:१३ मा प्रकाशित

काठमाडौं,  विस्तारा एयरको सेवा पूर्णरुपमा बन्द भएको छ। यसको कमाण्ड आजदेखि भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाले सम्हालेको छ। करिब नौ वर्षअघि टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको ज्वाइन्ट भेन्चरबाट विस्तारा एयरको सेवा सुरु भएको थियो।

जनवरी २०१५ मा पहिलो उडान सुरु गरेको विस्तारा एयरले आफ्नो अन्तिम उडान ११ नोभेम्बर २०२४ मा गर्‍यो। आज १२ नोभेम्बरबाट यसको सञ्चालन एयर इण्डियाबाट हुने छ।

सन् २०२२ को २९ नोभेम्बरको दिन एयर इण्डिया र विस्तारा एयरबीच मर्जर सम्झौता भएको थियो। सम्झौता अनुसार एयर इण्डियामा सिंगापुर एयरलाइन्सको हिस्सेदारी २५.१ प्रतिशत र टाटा ग्रुपको ७४.९ प्रतिशत कायम भएको छ। एयर इण्डिया निजीकरण भए पनि यसले भारतको राष्ट्रिय ध्वजाबाहकको मान्यता भने पाएको छ।

एयर इण्डियासँग विस्तारा एयरको मर्जर टाटा ग्रुपको एक रणनीतिक हिस्सा हो। यसमार्फत् टाटा ग्रुपले विस्तारा एयरलाई विलय गरी एयर इण्डियाको ब्राण्डमार्फत् आफ्नो सेवा अझै प्रभावशाली बनाउन चाहेको छ। यसबाट टाटा ग्रुप उड्डयन क्षेत्रमा अझ मजबुत भएको छ।

एयर इण्डियामा विस्तारा एयर विलय भएपछि विस्तारा एयरलाइन्सको फ्लाइट कोड २ अंकबाट सुरु हुने छ। उदाहरणका लागि विस्तारा एयरलाइन्सको फ्लाइट कोड ग्प् ९५५ छ भने अब ब्क्ष् २९५५ हुने छ। यसबाट ग्राहकहरुलाई एयर इण्डियाले मर्ज गरेको विस्ताराको विमान चिन्न सहज हुने छ। टाटा ग्रुपले ग्राहकको सेवा र गुणस्तरमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाएको छ।

भारतमा एयरलाइन्सको इतिहास हेर्ने हो भने पछिल्लो १७ वर्षको अवधिमा ५ ठूला एयरलाइन्सहरु बन्द भइसकेका छन्। यसमा विजय माल्याको किंगफिशर समेत छ। सन् २००३ मा स्थापना भएको किंगफिशरले २००५ देखि सेवा सुरु गरेको थियो। तर सात वर्षपछि यो पूर्णरुपमा बन्द भएको थियो।

यसैगरी सुब्रत रोयको एयर सहारा पनि बन्द भएको थियो। यसलाई नरेश गोयलको जेट एयरले अधिग्रहण गरेको थियो। अधिग्रहणपछि नाम ‘जेटलाइट’ राखियो। तर सन् २०१९ मा यो पनि टाट पल्टियो। सन् २०२४ नोभेम्बर १२ बाट विस्तारा एयर पनि अब इतिहास बनेको छ।