समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग

HTV Khabar ३२ भाद्र २०८२, बिहीबार ०७:१७ मा प्रकाशित

काठमाडौं, निर्वाचन आयोगले समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताएको छ। कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताएका हुन्।

नवनियुक्त गृह एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न विहीवार आयोजित कार्यक्रममा बोल्दै उनले आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार रहेको बताए।

उनले आयोगलाई काम गर्नबाट पन्छिने छुट नरहेको उल्लेख गर्दै निष्ठामाथि प्रश्न गर्ने ठाउँ नदिने प्रतिवद्धता पनि जनाए।‘काम गर्नबाट पन्छिने छुट हामी कसैलाई छैन। निर्वाचन आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार छ।त्यो प्रयोजनका लागि पूर्वतयारी हामीले सुरु गरिसकेका छौं,’ उनले भने, ‘त्यसमा हामी सबै कर्मचारी साथीहरु खटिसक्नुभएको छ। सबै जिल्ला निर्वाचन कार्यालय, प्रदेश निर्वाचन कार्यालयमा तयारी भइसकेको छ।’

उनले कानून बमोजिम दर्ता भएका सबै राजनीतिक दलहरूको सहभागिता हुने र राजनीतिक दल तथा निर्वाचनमा प्रतिष्पर्धा गर्न चाहने स्वतन्त्र उम्मेदवारहरुलाई समेत बिना अवरोध निर्वाध रुपमा प्रचार प्रसार गर्न र आफ्ना धारणा राख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताए।

‘पूर्ण प्रतिष्पर्धात्मक रुपमा निर्वाचनको सामान खरिद गर्न सक्यौँ भने स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन गर्ने र अतिमितव्ययी निर्वाचन गर्ने र निर्वाचन आयोगको निष्ठामा कसैले शंका गर्न दिनेछैनौँ। मुलुकमा शान्ति सुरक्षाको स्थिति खल्बिलिएको छ,’ उनले भने, ‘यो सबै जानेकै विषय हो। सुरक्षाकर्मी बस्ने कतिपय भवन छैन । सुरक्षाकर्मी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारीको कार्यालयमा कति ठाउँ क्षतविक्षत छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याइदिएमा कानूनमा रहेका बाधाहरू हटेर मतदाता संकलन लगायत कार्यसम्पादनमा सहज हुने बताए।