एक महिने ‘गुँला पर्व’ आजदेखि सुरु

HTV Khabar १० श्रावण २०८२, शुक्रबार ०१:०१ मा प्रकाशित

काठमाडौं,  बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजदेखि शुरू भएको छ। विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछ।

आजदेखि आगामी भदौ ८ गतेसम्म यस पर्व मनाइने गरिन्छ। नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन्।

यस पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा छ। गुँला पर्व विशेषगरी बौद्धमार्गीहरुको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गर्छन्। पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन छ।