मुना-पुष्कर चालिसे परोपकार केन्द्रले देशभरका विद्यार्थीलाई छात्रवृत्ति दिने

HTV Khabar ११ पौष २०८२, शनिबार ०३:४२ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं. -१२ का स्थानीय बासिन्दा समाजसेवी पुष्कर चालिसे र उहाँकि श्रीमती मुना चालिसेद्वारा स्थापित मुना-पुष्कर चालिसे परोपकार केन्द्रले देशभरका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। 

बागमती प्रदेश भित्रका १३ वटा जिल्लामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत प्रत्येक जिल्लाबाट एकजना विपन्न जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने कुरा संस्थाको योजना सार्वजनिक कार्यक्रममा अध्यक्ष पुष्कर चालिसेले बताएका छन्। 

हाललाई बागमती प्रदेशका १३ जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएता पनि छिट्टैनै देशभरका ७७ जिल्लाबाट एकएक जना गरि ७७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने लक्ष्य रहेको चालिसेले बताए। 

वडा नं.-१२ का अध्यक्ष शम्भु भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अध्यक्ष चालिसेले संस्थाको बारेमा प्रकाश पारेका थिए। संस्थाको उदेश्य पूर्तिका लागि रु.२५ लाखको अक्षय कोष स्थापना गरिएको उनलेे बताए। 

छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीले संस्थाको वेवसाईटमा रहेको फारम भरेर निवेदन दिनुपर्नेछ र उक्त निवेदन उपर संस्थाको नियमानुसार छात्रवृत्ति छनौट समितिले छनौट गरेको प्रत्येक जिल्लाका एक एकजना विद्यार्थीलाई संस्थाले वार्षिक रु.पाँचहजार छात्रवृत्ति प्रदान गर्नेछ। 

सामुदायिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्न विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्नेछन्। यसरी प्राप्त भएको छात्रवृत्ति रकम परीक्षामा अनुत्तीर्ण भएमा, बसाइँ सरि गएमा वा विद्यालय छाडेमा प्रदान गरिने छैन। 

पच्चीस लाखको अक्षयकोष स्थापना गरेता पनि हाल उक्त रकम खर्च नगर्ने तर छात्रवृत्ति भने चालिसे दम्पतीले आफ्नो निजी खर्चबाट कटाएर जम्मा गरेको रकमबाट उपलब्ध गराउने अध्यक्ष चालिसेले बताए। 

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष भट्टराईले कार्यक्रममा बोल्दै देशको शिक्षाको विकासमा योगदान पुर्‍याउने उदेश्य लिएर संस्था स्थापना गरेकोमा चालिसे दम्पतीको प्रशंसा गर्दै उदेश्य अनुरुप कार्यगर्न शुभकामना दिएका थिए। 

अतिथि तथा समाजसेवी बाजुराम पौडेलले अरुको परोपकार गर्नुनै मानव जीवनको सार्थकता भएको बताउँदै चालिसेलाई बधाई र शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए।