काठमाडौं, लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मङ्गलवार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुका ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार यो समयमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
वर्षातका कारण विपद्को अवस्था सिर्जना हुन सक्ने भएकाले यात्रु र सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेँसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातको समयमा सार्वजनिक, निजी र सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
चामे नजिकको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरका लागि सवारी छुट्न नपाउने व्यवस्था गरिएको छ। ती सवारीसाधन नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुका साढे ६ बजेभन्दा अघि छुटिसक्नुपर्ने छ। कुल ६५ किलोमिटर रहेको यो सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर सडक मनाङमा पर्छ।
बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निर्माण सम्पन्न गरेर सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो।