काठमाडौं, जापानका मेयर तोसिआकी मुरायामालाई बूढानीलकण्ठ नगरपालिका भव्य स्वागत गरिएको छ।
जेठ १ गते मेयर मुरायामा सहित उनका स्वकिय सचिव ताकोई सिहायुकी, उक्त नगरपालिकाका बहुसाँस्कृतिक विभाग प्रवन्धक फुकुदा मासामी सान र सोही विभागका सान खुनिको हासेगावालाई नगर प्रमुख मिठाराम अधिकारीले स्वागत गरेका हुन्।
बूढानीलकण्ठ नगरपालिका र ओईजुमी नगरपालिका विच रहेको भगिनी सम्बन्ध विस्तार गर्ने उद्देश्य सहित नेपाल साझा समाज जापानको समन्वयमा उनिहरु बूढानीलकण्ठ नगरपालिका भ्रमण गरेका हुन्।
भेटघाटको क्रममा औपचारीक कार्यक्रम आयोजना गरी दुई नगरपालिकाले आ-आफ्नो क्षेत्रमा गरिरहेको विकासका असल अभ्यास सम्बन्धी विशेष अन्तरक्रिया गरिएको थियो।
बूढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाले स्वागत मन्त्वय राख्दै नगरपालिकाको भौगोलिक बनावट, साँस्कृतिक विविधता र यहाँका सम्भावना र चुनौतीको विषयमा जानकारी गराएकी थिइन्।
नगर प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले श्रमिक सुचीकरण, स्वास्थ्य बीमा, १० कक्षा सम्मका विद्यार्थीहरुलाई निःशूल्क दिवा खाजा, खोला सरसफाई अभियान, सामुदायिक जनावर व्यवस्थापन, कृषिका प्राविधिक औजार वितरण, र विभिन्न साँस्कृतिक तथा खेलकुद महोत्सव र उत्सव जस्ता नगरपालिकामा विगत २ वर्ष यता संचालन भईरहेका विकासका उत्कृष्ठ अभ्यासहरुबारे जानकारी गराएका थिए।
अन्तरक्रियाको क्रममा अत्यन्त रमाइला मेयर मुरायामा तोसिआकीले बूढानीलकण्ठ नगरपालिकाले गरेको स्वागत र सत्कारलाई विशेष धन्यवाद व्यक्त गर्दै यहाँको फोहोर मैला र विपद व्यवस्थापन चुनौतिको विषयमा आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए।
उनले यहाँका यूवाहरुलाई आफ्नो नगरपालिकामा रोजगारीको अवसर सिर्जना गर्दै उनिहरुले त्यहाँबाट सिकेका अभ्यास नेपालमा प्रयोग गर्न उत्साहित गर्ने बताए। सोहि क्रममा मेयर तोसिआकीले बूढानीलकण्ठका जनप्रतिनिधि र सम्बन्धीत प्रशासनीक कर्मचारीहरुलाई आफ्नो नगरपालिकाको अवलोकन भ्रमणका लागि निमन्त्रणा गरेका थिए।
कार्यक्रममा आफ्नो मन्तव्य मार्फत नगर प्रमुख मिठाराम अधिकारीले ३ महिना अघिको जापान भ्रमण उत्तिकै फलदाई भएको अनुभव सुनाउँदै दुई नगरपालिका विचको भगिनी सम्बन्ध कायम राख्न सधै साथ र सहयोग रहने प्रतिवद्धता जनाएका थिए।