बूढानीलकण्ठ - ९ को आयोजनामा वातावरणिय पदयात्रा सम्पन्न

HTV Khabar २२ असार २०८२, आइतबार ११:१४ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ द्वारा आयोजना गरिएको वातावरणीय पदयात्रा कार्यक्रम - २०८२ शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ।

वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो।

पदयात्रामा वडा भित्रका विभिन्न विद्यालयका विद्यार्थी, नगर युवा परिषद्का सदस्यहरू, वडावासी, जनप्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम बुढानीलकण्ठ ९ बाट सुरु भएर शिवपुरीको पर्यावरणीय पदमार्ग हुँदै सम्पन्न गरिएको हो।

नगर प्रमुख मिठाराम अधिकारीले वातावरणीय सन्तुलन कायम राख्न समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए। शनिवार भएको पदयात्राले विशेषगरी विद्यार्थी र युवामा जागरूकता फैलाउने काम गरेको छ, जुन भविष्यका लागि सकारात्मक संकेत रहेको नगर प्रमुख अधिकारीको भनाई छ।

उपप्रमुख अनिता लामाले यस किसिमका कार्यक्रमहरूले वातावरण संरक्षणमा नागरिक सहभागिता अभिवृद्धि गर्छन्। प्रकृतिसँग नजिक हुने यस्तो अवसर विद्यार्थी र युवा पुस्ताका लागि शिक्षाप्रद हुने बताईन्।

वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले हाम्रो वडाले यो कार्यक्रम आयोजना गरेर नयाँ अभ्यासको सुरुवात गरेको भन्दै विद्यार्थी र युवाको उत्साहले देखाउँने र वडामा सकारात्मक सोच र सक्रिय सहभागिता विकास हुँदै जाने बताईन्।

वडा सदस्य रमेश गौतमले हामी भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनेछौं। समुदायमैत्री वातावरण बनाउन सबैको साथ आवश्यक छ त्यसका लागि समेत यस्ता कार्यक्रम आवश्यक हुने उनको भनाई छ।

पद यात्रामा सहभागीको एक विद्यार्थीले पदयात्रामा सहभागी हुँदा प्राकृतिक सौन्दर्यको महत्व मात्र होइन, वातावरणीय चुनौतीबारे पनि बुझ्न पाएर सिकाइको उत्कृष्ट माध्यम बनेको धारणा व्यक्त गरे।

बुढानीलकण्ठ नगर युवा परिषद् वडा नम्बर ९ का अध्यक्ष स्वस्तिक कार्कीले युवाले प्रकृति बचाउने अभियानमा अगुवा भूमिका खेल्नुपर्छ। उनले भने आजको पदयात्राले हामीमा थप जिम्मेवारीबोध गराएको छ।

कार्यक्रममा सहभागीहरूलाई आयोजकले ज्याकेट, क्यापटोपी र रेनकोट वितरण गरेको थियो। साथै, खाना र खाजाको निःशुल्क व्यवस्था गरिएको थियो।

स्थानीयस्तरमा वातावरणप्रति सचेतना फैलाउन आयोजित कार्यक्रमको सबै पक्षबाट प्रशंसा भएको छ। सहभागीहरूले यस्तो कार्यक्रमले व्यक्तिगत स्तरमै सोच परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।