काठमाडौं, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करले फाइदा लिने र जनताले दुःख पाउने अवस्थाको अन्त्य गर्ने बताएका छन्।
इलाम बजारमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासँगको अन्तरक्रियामा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पार्टीको उम्मेदवार घोषणा गर्न इलाम पुगेका रास्वपा सभापति समेत रहेका लामिछानेले त्यहाँका स्थानीयसँग कुराकानी गरे।
गृहमन्त्री लामिछानेले भने,’नागरिकले दुःख पाउने, तस्करले फाइदा लिने विगतको अभ्यास अब सहन सकिँदैन।
नागरिकको सुरक्षा र तस्करी नियन्त्रणमा गम्भीर छौं। आत्महत्या यहाँको ठूलो समस्या हो, विस्तृत अध्ययन गरेर काम गर्छौं।’
चुनाव र भोट बैंकको हिसाब गरेर बस्दा केही काम हुन नसकेको उनको भनाइ छ। गृहमन्त्री लामिछानेले धेरै समस्या र माग विगतमा कामै भएन कि प्राथमिकताअनुसार भएन गम्भीर समीक्षा गरेर अघि बढ्ने बताए।