कपन प्रहरीको अर्को सफलता नक्कली नोट सहित महिला पक्राउ

सबिन पन्त 'पृथक' ५ मंगशिर २०८०, मङ्गलबार ०३:२३ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-१२ निलो माईक्रो पार्कबाट नक्कली नोटसहित एक महिलालाई कपन प्रहरीले नियन्त्रणमा लिएको छ।


वडा नं. १२ कपन निलोमाईक्रो पार्क नजिक पसलहरुमा सामान किन्न नक्कली नोट प्रयोग गर्ने तथा उक्त नक्कली नोट सटही समेत गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा मंसिर ४ गते साँझ ७:०० बजेको समयमा प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक नवराज सापकोटाको कमान्डमा खटिएको प्रहरी टोलीले एक महिलालाई शंकास्पद अवस्थामा हिंड्डुल गरिरहेको अवस्थामा फेला पारेको थियो। 


निज महिलालाई नियन्त्रणमा लिएर  कानूनी रितपुर्वक शरीर खानतलासी गर्दा निजले लगाएको कलेजी रङको सुरुवालको बायाँ गोजीमा नेपाली रुपैयाँ एक हजार दरको नक्कली जस्तो देखीने नोट नं. झ८४ १५७६५१ लेखिएको  नोट थान- १३ (तेह्र)  र नं. झ१००५२५१९५ को नोट थान १ तथा Redmi कम्पनीको कालो रंङको मोवाईल थान १ फेला पारेकोले कानुन बमोजिम बरामद गरेको थियो। 


निज महिलालाई थप सोधपुछ गर्दा उस्तै प्रकारको नोटहरु  निज बस्ने गरेको कोठामा समेत लुकाई छिपाई राखेको बताएकीले वडा नं. १२ कपन स्थित निजको डेरा कोठामा गई कानूनी रितपुर्वक खानतलासी गर्दा नेपाली रुपैयाँ एक हजार दरको नक्कली जस्तो देखीने नोट नं. झ८४ ८४१५७६५१ लेखिएको  नोट थान- ७ समेत फेला परेको थियो। 


निज महिलाले नक्कली नोटहरु साँखु बस्ने थापा थरकी एक महिलाले दिएको भनि बताए पश्चात् प्रहरी प्रभाग साँखुसंग समन्वय गरि प्रहरी प्रभाग कपन र प्रहरी प्रभाग साँखुको संयुक्त प्रहरी टोलि ती थापा थरकी महिलाको कोठामा पुगि खनतलासी गर्दा रु १००० लेखिएको तेस्तै प्रकारको १४० वटा नक्कली नोट फेला परेकोले निजलाई पक्राउ गरि साँखु प्रहरीले नियन्त्रणमा राखेको छ भने कपनबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्धमा पठाईएको छ।