वाणिज्य बैंकहरुको ब्याजदरमा हेरफेर नयाँ दर सार्वजनिक

HTV Khabar ३२ भाद्र २०८०, सोमबार ०९:२६ मा प्रकाशित

काठमाडौं, वाणिज्य बैंकहरूले असोजका लागि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। भदौको तुलनामा आठवटा वाणिज्य बैंकले असोजमा ब्याजदर बढाएका छन्। यस्तै सात बैंकको ब्याजदर घटेको छ भने चारवटाको स्थिर छ।
बैंकहरुले साउनदेखि ब्याजदरमा गरेको भद्र सहमति तोडिएसँगै भदौयता फरक–फरक ब्याजदर हुने गरेको छ।

भदौयता बैंकहरुले आफूअनुकूल ब्याजदर निर्धारण गर्दै आएका छन्। बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसतमा १० प्रतिशतले घटबढ गर्ने गरेका छन्। कतिपय बैंकले त्यही अनुसार नै ब्याजदर घटबढ गरेका छन्। केहीको भने यथावत् रहेको छ।

बैंकको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११.३६ प्रतिशतसम्म पुगेको छ। व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज प्राइम कमर्सियल बैंकले दिने भएको छ। बैंकले ११.३६ प्रतिशत ब्याज दिनेछ। नबिल बैंकले मुद्दति निक्षेपमा ११.०५ प्रतिशत ब्याज दिनेछ। भदौमा बैंकको ब्याजदर १०.४९ प्रतिशत थियो। असोजमा बैंकको ब्याज भदौको तुलनामा ०.५६ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ। यो बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६ प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ। एनआईसी एशियाले पनि ब्याजदर बढाएको छ। यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा भदौका लागि १०.८९६ प्रतिशत ब्याजदर तोकेकोमा असोजका लागि ११.०५ प्रतिशत पुर्याएको हो। प्रभु, एनएमबि, माछापुच्छे र सिद्धार्थ बैंकले यथावत् राखेका छन्।

बैंकहरूको कर्जा लगानी बढ्न नसकिरहेका समयमा लगानीयोग्य रकम पर्याप्त रहेको छ। बैंकहरूले भने लगानीयोग्य रकम पर्याप्त रहँदा रहँदै पनि ब्याजदर बढाएका हुन्। राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.१४ प्रतिशत छ। यस आधारमा बैंकसँग करिब साढे तीन खर्ब लगानीयोग्य रकम छ। यद्यपिनबैंकहरूले ब्याजदर बढाउनेतर्फ प्रतिष्पर्धा गरिरहेका छन्। केही बैंकहरूले ठूला संंस्थागत निक्षेपकर्ताले निक्षेप झिक्ने त्रासले पनि ब्याजदर बढाउनुपरेको बैंकरहरूको तर्क छ।