नेपालले इङ्ल्याण्डलाई ६ विकेटले हरायो

HTV Khabar १६ कार्तिक २०८१, शुक्रबार १२:०१ मा प्रकाशित

काठमाडौं,  नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ। हङ्कङको मोङ ककमा शुक्रवार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो।

नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए। उनले १२ बलमा चार चौका र छ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन्। त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए। राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो। इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे। स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए।

नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिए। नेपालले शनिबार अष्ट्रेलियासँग खेल्नेछ।