काठमाडौं, भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन्। जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच बढेको तनावबीच मे ७ मा भारतले आफ्ना ३२ वटा विमानस्थल बन्द गरेको थियो।
ती विमानस्थलहरू मे १५ को बिहान ५ः२९ बजेसम्म अस्थायी रूपमा बन्द भनिएको थियो। तर, दुवै देशबीच युद्धविराम सम्झौता भएसँगै भारतीय विमानस्थल प्राधिकरणले विमानस्थल खोलेको हो ।प्राधिकरणले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थल खुला गरिएको जनाएको छ।
उसले यात्रुहरूलाई ती विमानस्थलहरूमा उठानका लागि सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन आग्रह गरेको छ। इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्सममा यसबारे जानकारी दिएको छ।
कम्पनीले ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानहरूका लागि खोलिएको जनाएको छ।