काठमाडौं, देशभर ३० जनामा हैजा संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्याङ्क अनुसार साउन महिना लागेदेखि चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएको हो।
सबैभन्दा बढी ललितपुरमा १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ। कैलालीमा ८ जना, प्युठानमा २ जना र काठमाडौँमा १ जनामा हैजा संक्रमण पुष्टि भएको छ।
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। यो रोग लागेमा पातलो चौलानी पानीजस्तो दिसा हुने, वाकवाकी लाग्ने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता लक्षणहरु देखिन्छन्।
हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन्।