एकीकृत शक्ति निर्माणमा जुटे मधेसी दल

HTV Khabar १६ पौष २०८१, मङ्गलबार ०७:४६ मा प्रकाशित

काठमाडौं,  तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तीव्र पारेको छ।

सोही क्रममा आईतवार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो।

संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन्।

जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए। उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरुबीच सहकार्यका लागि तयार रहेको छ।

जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप कार्ययोजना बारे आगामी दिनमा फेरि छलफल हुने बताए।

जप्रपा नेपालका हृदयेश त्रिपाठीले तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका छन्। जप्रपा नेपालको वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य रहेका छन्।