केन्द्रीय सदस्य चयनका लागि एकीकृत समाजवादीले मापदण्ड बनाउने

HTV Khabar २३ असार २०८१, शनिबार ०८:४७ मा प्रकाशित

काठमाडौं, नेकपा एकीकृत समाजवादीले मापदण्ड बनाएर केन्द्रीय सदस्य चयन गर्ने भएको छ।

शनिवार बसेको केन्द्रीय कमिटी बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले बताए।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय कमिटीलाई पूर्णता दिने म्याण्डेट सचिवालयलाई दिएको थियो।

म्याण्डेट अनुसार, पहिलेका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ। त्यसरी बनेको ९३ जनाको केन्द्रीय कमिटीले थप केन्द्रीय सदस्य चयन गर्न मापदण्ड बनाउने निर्णय गरेको हो।

एकीकृत समाजवादीको महाधिवेशन अघि बसेको सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकले अर्को निर्णय नभएसम्म महाधिवेशन अगाडि भएको नेताहरुको जिम्मेवारीलाई यथावतः राख्ने निर्णय पनि गरेको छ। अर्को बैठक भोलि (आइतबार) बिहान ११ बजे बोलाइएको छ।