बूढानीलकण्ठ -११ मा विविध क्षेत्रमा योगदान पुर्‍याउने नारीहरुलाई सम्मान गरि ११४औं नारी दिवस सम्पन्न

सबिन पन्त 'पृथक' २४ फाल्गुन २०८०, बिहीबार ०६:४१ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.११ मा "महिलामा लगानी :सभ्य र समुन्नत समाजको थालनी" भन्ने राष्ट्रिय नाराका साथ ११४औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रम ऐतिहासिक रूपमा भव्यताका साथ सम्पन्न भएको छ। 
११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वडा ११ कि महिला सदस्य सर्मिला गौतम केसीको संयोजनमा आयोजना गरिएको  वडाभित्र  विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने महिलाहरुलाई सम्मान तथा विविध कार्यक्रम अत्यधिक महिलाको सहभागितामा सम्पन्न भएको हो। 
बूढानीलकण्ठ नगर उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यता र वडाध्यक्ष राजुु अधिकारीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा संयोजक सर्मिला गौतमले वडाभित्र बसोबास गरि महिला उत्थान तथा सशक्तीकरणमा गैह्र राजनैतिक रूपमा विशेष योगदान पुर्‍याउने महिलाहरुलाई सम्मान गरिएको थियो। 
कार्यक्रममा पूर्व वडा सदस्यहरु जानकी अधिकारी, भगवती निरौला, रत्न नगर्ची दर्जी, शिक्षक कल्पना चालिसे, उद्धमी महिला तुलसा लिम्बू, निजामती कर्मचारी उपसचिव शोभा चालिसे, महिला प्रहरी पूर्व प्रनानी दुर्गा कोइराला, पिएचडी होल्डर डा.आरती कार्की, महिला खेलाडी दिबिसा लामा, अधिवक्ता कौशिला गुरुङ, स्वास्थ्य स्वयंसेवीका उर्मिला चालिसे, साहित्यकार सुशीला पौडेललाई सम्मान गरिएको थियो।
त्यस्तै महिला संजाल पूर्वअध्यक्ष संगीता पन्त, भवानी देउजा, आर्किटेक विनिता रेग्मी, नर्सिङ चेतना पौडेल, पत्रकारिता कल्पना शर्मा, महिला सहकारीकर्मी बबिता थापा बुढाथोकी र चन्द्रावती बानियाँ अधिकारी, बैंक अधिकृत विनिता सिंह, उत्कृष्ट विद्यार्थी आश्मा बम, महिला कृषक ललिता गुरुङ, साना व्यापारी दुर्गा गौतम, समाजसेवी अर्चना खतिवडा र जेष्ठ नागरिक ठुलीकाली बानियाँलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
संयोजक गौतमले ११ वडाभित्र भित्र बसोबास गर्ने महिलाहरुलाई निष्पक्ष रूपमा आमन्त्रण गरेकी थिइन् जसको कारण वडाको कार्यक्रम भएता पनि सिङ्गो नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ भन्दा अत्यधिक महिलाको सहभागिता देखिएको थियो। नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वस्फूर्त रूपमा महिलाहरुको उपस्थितिले गर्दा उक्त कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भएको भन्न किन्चित कन्जुस्याइँ गर्नुपर्ने देखिन्न। 
नगर अथवा वडाले आयोजना गर्ने कार्यक्रममा सूचना गर्‍यो भने नगरवासीको सहभागिता रहनेछ भन्ने यो कार्यक्रम एउटा उदाहरणको रूपमा सफल देखिएको छ। कार्यक्रम महिला समाजसेवी अर्चना खतिवडाले सञ्चालन गरेकी थिइन्।