अन्नपूर्ण बेसक्याम्पमा पनि बाक्लो हिमपात

HTV Khabar ११ कार्तिक २०८२, मङ्गलबार ०९:१७ मा प्रकाशित

काठमाडौं,  ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा गएरातिदेखि बाक्लो हिमपात भइरहेको छ। अन्नपूर्ण गाउँपालिका ११, अन्नपूर्ण बेसक्याम्पमा हिमपात भएको हो। हिमपात भएसँगै बेसक्याम्प पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु हिउँमा रमाइरहेका छन्।

हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको छ। तर, बालीनाली सप्रिने भएकाले स्थानीय भने खुसी छन्। अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको असरले नेपालमा आज र भोलि वर्षा तथा हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।

विभागले गण्डकी प्रदेशमा बढि हिमपात हुने प्रक्षेपण गरेको छ। गएरातीदेखि मुक्तिनाथ क्षेत्रमा पनि हिमपात भइरहेको छ। मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात हुँदा मुक्तिनाथ दर्शनका लागि गएकाहरु दर्शनार्थीहरु प्रभावित भएका छन्।

तीन–चार इञ्च हिउँ जमेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गरी हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ।

मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।

काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ। वर्षातका कारण काठमाडौंको मौसम पनि चिसो भएको छ।