काठमाडौं, राष्ट्रिय युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई एक वर्षका लागि संगठनबाट निलम्बन गरेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुला अभिव्यक्ति दिएका खरेललाई संघले गैरजिम्मेवार, अराजक र संगठनविरोधी गतिविधि गरेको आरोपसहित कारबाही गरेको हो।
साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले संघको विधानअनुसार खरेललाई पदमुक्त गर्दै संगठनबाट एक वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिएका तथा एमाले नेतृत्वको विकल्प खोज्नुपर्ने तर्क राख्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए। साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले खरेललाई संघको विधान २०४७ को धारा ४१ र ४२ (क) र (ख) अनुसार पदमुक्त गर्दै संगठनबाट एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
महासचिव रमेश चौलागाईद्वारा जारी पत्रअनुसार खरेलले पार्टी र संगठनविरुद्ध अशोभनीय व्यवहार गरेको, केन्द्रको निर्देशन उल्लंघन गर्दै सचिवालय बैठक राखेको, र अराजक गतिविधिमा संलग्न भएको आरोप छ।
संघको १०औं महाधिवेशनका क्रममा खरेलमाथि अध्यक्षमण्डलका सदस्यहरूप्रति अभद्र व्यवहार, प्रतिनिधिहरूलाई धम्की दिने र पार्टी नेतृत्वलाई सामाजिक सञ्जालमार्फत लाञ्छना लगाउने जस्ता गम्भीर आरोप लगाइएको थियो।
केन्द्रले तीन दिनभित्र भौतिकरूपमा उपस्थित भई स्पष्टीकरण दिन भने पनि खरेलले इमेलमार्फत तीन पृष्ठ लामो जवाफ बुझाएका थिए।
सुरज खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तस्वीर सार्वजनिक गर्दै फेसबुकमा लेखेका थिए, “अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस्।” उनले नेतृत्व परिवर्तनको मागलाई पार्टीप्रतिको माया र सुधारको चाहनासँग जोड्दै सशक्त धारणा सार्वजनिक गरेका थिए।