काठमाडौं, सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै छ।
‘आम औषधि सेवन अभियान’ अन्तर्गत हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए।
दुई सातासम्म चल्ने अभियानमा सात जिल्लाका १०१ पालिकाका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य छ।
दुई वर्षभन्दा माथिको उमेरका सबैलाई औषधि खुवाइने डा.मरासिनीले जानकारी दिए। गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने उनको भनाइ छ।