एमालेका सांसद लक्ष्मी कोइरीको निलम्बन फुकुवा

HTV Khabar ९ पौष २०८०, सोमबार ०७:५८ मा प्रकाशित
काठमाडौं, नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ।


संघीय संसद्‌का कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयद्वारा आईतवार जारी सूचनामा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (५) बमोजिम निलम्बन फुकुवा भएको जनाइएको छ ल।


कोइरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए। २०७७ मा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।


निर्वाचित भएपछि प्रतिनिधिसभाका केही बैठकमा उपस्थित भएका कोइरी फरारको सूचीमा रहेको भनी प्रश्न उठेपछि पुन: सम्पर्कविहीन भएका थिए।


प्रहरी प्रधान कार्यालयको पत्रका आधारमा निलम्बनमा परेका कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोतरीबाट सफाइ पाएका थिए। सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए। सभामुख देवराज घिमिरेको निर्देशनमा उनको निलम्बन आईतवार फुकुवा भएको हो।