काठमाडौं, नेपाल राहत शिक्षक समितिको छैठौं महाधिवेशन सम्पन्न भएको छ। काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्यूमा आयोजित महाधिवेशनले नवीन सिंह धामीलाई अध्यक्ष तथा डम्बरबहादुर राईलाई महासचिव चयन गर्दै १५१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्माण गरेको छ।
शिक्षा तथा संस्कृति मन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यतामा कात्तिक ९ गते समुद्घाटन गरि शुरु भएको महाधिवेशनमा देशभरका राहत शिक्षकहरुबाट छानिएर आएका ६३८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
उक्त महाधिवेशनले राहत शिक्षको मनोबल उच्च बनाउनको लागि केन्द्रिय कार्यसमिति सर्वसम्मत होस् भनेर लामो प्रयास गर्दै अध्यक्षमा नवीन सिंह धामी र विरेन्द्र मल्ल बीच आलोपालो गर्दै अध्यक्षता गर्ने सहमति भएको अध्यक्ष मण्डलका सदस्य जीवन तिम्सिनाले एचटिभी खबरलाई बताए।
देशभरका राहत शिक्षकको केन्द्रमा रहेका निवर्तमान अध्यक्ष खेमराज अधिकारी संरक्षणकको भूमिका रहेका छन् भने निवर्तमान महासचिव कुमार बजगाई सह संरक्षकका रूपमा रहेका छन्।
पूर्व समितिले राहत शिक्षकको माग र मुद्दालाई राज्यबाट सम्बोधन गराई नयाँ बन्ने शिक्षा ऐनमा उल्लेख गराउन कटिबद्ध रहेको थियो। नयाँ समितिले राहत शिक्षकको मागलाई झनै निश्कर्षमा पुराउने आशा र भरोसा गरिएको पर्सा जिल्लाबाट महाधिवेशनमा सहभागी शिक्षक उत्तम गुप्ताले बताए।
कार्यक्रममा सम्बोधन गर्दै निवर्तमान अध्यक्ष तथा संरक्षक अधिकारीले ४० हजार राहत शिक्षकको जायज मागलाई राज्यले जसरी पनि पूरा गर्नुपर्ने बताए। आफू अध्यक्ष पदमा नरहेपनि आन्दोलनको मोर्चामा कहिल्यै पछि नहट्ने प्रतिबद्धता जनाएका छन्।