काठमाडौं, प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुखलाई सरुवा गरेको छ। धादिङका एसपी भेषराज रिजाललाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयले सुमित खड्कालाई पठाउने निर्णय गरेको हो।
रिजाल ३ महिनाअघि मात्र धादिङ गएका थिए। खड्का प्रहरी हेडक्वार्टरमा कार्यरत थिए। यसअघि बाराका एसपी सन्तोष तामाङलाई पनि प्रहरी हेडक्वार्टर फिर्ता बोलाउने निर्णय गरिएको थियो। बारामा एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ।
बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र जेनजी प्रदर्शनकारीको बिचमा बुधवार झडप भएको थियो। झडप भएसँगै स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो। प्रदर्शन नियन्त्रणमा लिन विहीवार प्रहरीले गोली चलाएको थियो।
जेनजी प्रदर्शनकारीले आफ्ना समर्थकलाई कुटपिट गरेको आरोपमा ९ जना विरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले दुईजना वडा अध्यक्ष सहित केही आरोपीहरुलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष धन बहादुर श्रेष्ठ र वडा नम्बर–६ का अध्यक्ष कैमुद्धिन अन्सारी छन्।