भूकम्प प्रभावित क्षेत्रका लागि भारतले पठायो ११ टन राहत सामग्री

HTV Khabar २० कार्तिक २०८०, सोमबार ०७:४७ मा प्रकाशित
काठमाडौं, भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री पठाएको छ। नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री बोकेको भारतीय जहाज बाँकेको नेपालगञ्ज विमानस्थलमा आईतवार अपरान्ह अवतरण भएको हो।


काठमाडौंस्थित भारतीय राजदूतावासका अनुसार आईतवार भारतीय वायुसेनाको विशेष विमान सी-१३० बाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले सो राहत सामग्री उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरेका छन्।


आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन्। आगामी दिनमा पनि राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।


घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको भारतीय राजदूतावासले जनाएको छ। छिमेकी मुलुक होस् या अन्य मुलुक संकटको बेला सहयोगको हात बढाउन भारत सदैव अगाडी रहेको राजदूतावासको भनाई छ।


२०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुूलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य संचालन गरेको थियो।


भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५०,००० घरहरुको पुनर्निर्माण कार्य समावेश थियो।