काठमाडौं, नायक नवल खड्काको निर्देशन र लेखन रहेको फिल्म ‘काँडेतार’को मङ्गलवार प्रिमियर शो सम्पन्न भएको छ। जमलस्थित विश्वज्योती सिनेमा हलमा गरिएको प्रिमियरमा राजनीतिज्ञ, चलचित्रकर्मी र सामाजिक अभियन्ता र सञ्चारकर्मीहरु उपस्थिति थियो।
सिनेमा हलमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री सीपी मैनाली, अधिवक्ता स्वागत नेपाल, डा.सुरेन्द्र केसी, गायिका अञ्जु पन्त, आङ्काजी शेर्पा, लगायतको उपस्थिति थियो।
सिनेमा प्रदर्शन गर्नुअघि निर्माता निर्देशक नवल खड्काले चलचित्रको बारेमा प्रष्ट्याएका थिए। चलचित्र बनाउँदा साह्रै दु:ख भोग्नुपरेको उनले बताए। चलचित्रको दृश्यहरु काटकुट गरेर ल्याईएको र ल्याउँदा पनि दुई देशबीचको सम्बन्ध सुमधुर र मजबुत बनाउनु पर्छ भन्ने सोच राखिएको खड्काले बताए। सीमामा जुनखालको अस्तव्यस्त छ त्यसलाई नियमन गर्नुपर्छ र सके पर्खाल नसके काँडेतार लगाएर सीमालाई मजबुत बनाउनु पर्छ त्यसले दुई देशबीचको सम्बन्ध झन राम्रो हुन्छ भनेर कुरा उठान गरिएको उनको निष्कर्ष थियो।
नायक नवल खड्काले सिनेमामा भरपुर ‘एक्सन’ प्रदर्शन गरेकाछन्। सेन्सरका कारण केही दृश्यमा कैँची लागेको र केही संवाद ‘म्युट’ हुँदा फिल्मलाई केही क्षति पुगेको भने धेरैलाई अवश्य नै महसुस हुन्छ।
‘सीमानामा काँडेतार लगाउनुपर्छ’ भन्ने विषय उठान गरेकाले केहीले भारतविरोधी फिल्म बनेको भनेर ‘बाइकट’ अभियान चलाएका थिए।
प्रिमियर शो पश्चात फिल्म नेपालीले सहनु परेको ज्यादती केन्द्रित रहेको र भारतीय पक्षले आपत्ति जनाउने कुनै स्थान नरहेको धेरैले प्रतिक्रिया जनाएका थिए।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले फिल्मले वास्तविक कथा उठान गरेको र सो फिल्मलाई सहुलियतका साथ प्रदर्शनमा ल्याउन सरकार केन्द्रित हुनुपर्ने प्रतिक्रिया दिए। उनले भने, ‘यो देशभक्तीपूर्ण फिल्म, यसले तीन करोड नेपालीको हृदय बोलेको छ। जसरी अहिले हाम्रो देशमाथी बाह्य हस्तक्षेप, अतिक्रमण बढेको छ। हाम्रो सीमापनि सुरक्षित हुन सकेको छैन। यो कुरालाई लिएर बनेको यो फिल्म वास्तवमा सम्पूर्ण नेपालीको चाहना र आवश्यकता हो।' भन्दै चलचित्रका निर्मातालाई बधाई दिदै कलाकारको प्रशंसा गरेका थिए।
चलचित्रले भारतीय र नेपालीबीच राम्रो सम्बन्ध हुनुपर्छ भन्ने सन्देश दिएको छ। यो भारतका अपराधीक क्रियाकलाप विरुद्धमा रहेकोेछ।’ खुला सिमानाका कारण भारतीय पक्षबाट सीमामा बस्ने नेपालीले भोग्नु परेको ज्यादतीको विषय उठान गरेको छ। चलचित्रमा युवा पुस्तामाझ हराउँदै गएको देश प्रेम, सहरका युवामा सीमाका नेपालीले भोगेको सास्तीबारेको अज्ञानता र युवामा राष्ट्र प्रेम जाग्दा मुलुकमा देखिने परिवर्तन देखाइएको छ।
त्यस्तै अधिवक्ता स्वागत नेपालले फिल्मले राष्ट्रघाती सन्धि–सम्झौता र विदेशीसँग देशको हित विपरीत मिल्ने नेतालाई मृत्युदण्डको सजाय दिनुपर्छ सन्देश प्रवाह गरेको प्रतिक्रिया दिए। उनले थपे, ‘यो फिल्म नेपालका सबै विश्वविद्यालयमा सरकारले आफैँ देखाउनुपर्ने फिल्म हो।’
सीमाविद् बुद्धिनारायण श्रेष्ठले जङ्गे पिल्लरको सुरक्षाका लागि सीमामा काँडेतार नै आवश्यक रहेको सन्देश फिल्मले दिने प्रतिक्रिया दिए। सीमामा काँडेतारको आवश्यकता बारे फिल्म हेरेपछि प्रष्ट हुने उनले बताए।
फागुन २५ बाट प्रदर्शनमा आउने फिल्ममा नवल खड्कासहित गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रेम सुब्बालगायतको जोडदार अभिनय रहेको छ।