वासिङ्टन डिसी, करिब १२ घण्टा आफ्नो सेवा बन्द गरेपछि टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरु गरेको छ। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि कम्पनीले यो निर्णय लिएको हो।
टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत गर्दै भनेको छ, ‘तपाईँको धैर्यका लागि धन्यवाद। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको छ।’ यसअघि, एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि शनिवार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो।
अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानुन लागु भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन। चिनियाँ कम्पनी बाइटडान्सको अन्य एप लेमन८ र क्यापकट पनि हटाइएको थियो।
तर, आईतवार बिहान, ट्रम्पले सोमवारको शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएका थिए। यसको केही घण्टापछि कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा थियो। अमेरिकामा टिकटकमा १७ करोड प्रयोगकर्ता रहेका छन्।