काठमाडौं, उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा इस्लामिक लडाकू समूह बोको हरामले आक्रमण गरी ४० किसानको हत्या गरेको छ।
गत वर्षको सेप्टेम्बरमा आएको बाढी र विद्रोहका कारण वर्षौंदेखिको असुरक्षा र विस्थापनले बोर्नोमा बढ्दो खाद्य संकटका बीच बोको हरामले आक्रमण गरेर किसानको हत्या गरेको हो। बोर्नो राज्यका गभर्नर बाबागाना उमरा जुलुमले बोको हराम समूह र यसको टुक्रिएको गुटका विद्रोहीले किसानमाथि आक्रमण गर्दा ४० जना किसानले ज्यान गुमाएको बताएका हुन्।
आक्रमणपछि उक्त क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ। राज्यका गभर्नर बाबागानाले नागरिकलाई तोकिएका सुरक्षित क्षेत्रमा बस्न अपील गरेका छन्।
यस्तै गभर्नरले सेनालाई आक्रमणका विषयमा अनुसन्धान गर्न र आतंककारी समूहविरुद्ध कारबाही गर्न माग गरेकको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। साथै जघन्य हिंसात्मक कार्यका दोषीविरुद्ध सशस्त्र बल प्रयोग गर्ने गभर्नरले चेतावनी दिनुभएको छ।
यस्तै आक्रमणपछि किसानहरू सुरक्षित स्थान खोज्दै सेनाद्वारा स्थापित सुरक्षा करिडोर बाहिर बारुदी सुरुङले भरिएको क्षेत्रमा प्रवेश गरेको हुन सक्ने भन्दै सुरक्षाकर्मीले खोजी गरिरहेको छ।