सांसद् पुनर्स्थापनाको माग १४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर सर्वोच्च जाँदै कांग्रेस–एमाले

HTV Khabar ६ पौष २०८२, सोमबार १०:२० मा प्रकाशित

काठमाडौं,  नेपाली कांग्रेस र नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न निवर्तमान १४१ सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च अदालतमा जान लागेका छन्।

सांसद् पुनर्स्थापनाको माग लिएर अग्रणी दुई दल र जेनजी आन्दोलनअघिको गठबन्धन सरकारका साझेदार रहेका कांग्रेस र एमालेले संयुक्तरूपमा रिट दायर गर्न लागेका हुन्।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाइरहेका बेला कांग्रेस र एमालेको यो कदम आएको छ।

यसअघि एमालेले संस्थागत रूपमा र कांग्रेसका केही निवर्तमान सांसदहरूले व्यक्तिगत रूपमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गरेका थिए। हालसम्मको प्रक्रिया अनुसार कांग्रेसका निवर्तमान ८८ सांसदमध्ये आईतवार ६६ सांसदले हस्ताक्षर गरेका छन्।

केही समयअघि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि कांग्रेसले पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा जाने निर्णय गरेको हो।