काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन नामको १९औं शिखर सम्मेलनमा आज सम्बोधन गर्दै छन्।प्रधानमन्त्री दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
आजै प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्। सम्मेलनकै क्रममा उनले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
शिखर सम्मेलनले मन्त्रीस्तरीय बैठकको प्रतिवेदनमाथि विचार-विमर्श गर्ने, सन् २०१९ मा भएको १८औं शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुंगो लगाउने तयारी छ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो।
यही सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली टोली हिजो (बिहीबार) युगान्डा प्रस्थान गरेको थियो। सम्मेलन आज र भोलि (माघ ५ र ६ गते) युगान्डाको राजधानी कम्पालामा हुँदै छ।
दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटा, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्। प्रधानमन्त्री दाहाल पर्सि (माघ ७ गते) स्वदेश फर्कनेछन्।