काठमाडौं, बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाएर अनियमितता गरेको मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने भएको छ।
मंगलवार दुवैतर्फ र जवाफी बहससमेत सकिएपछि बुधवार फैसलाको तयारी भएको हो। सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृतरूपमा व्यक्तिको नाममा गरी गैरकानुनी लाभ लिने १७५ जनाविरुद्धको मुद्दामा एक महिनादेखि चलेको बहस मंगलबार सकिएको थियो।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो।
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिवहरू दिनेशहरि अधिकारी, छविराज पन्त, तथा भूमाफियाका रूपमा जग्गा कारोबारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई विपक्षी बनाइएको मुद्दामा चार वर्षपछि फैसला हुन लागेको हो।
अख्तियारले २२ माघ ०७६ मा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियो। भूमाफियाको चलखेलमा चारपटक ललिता निवासको जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता भएको दाबी गरिएको छ।