काठमाडौं, अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ।
यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ। आईतवार स्थानीय समयअनुसार साँझ ६:४७ बजे बोन्डी बीच नजिकैको पार्कमा गोली चलेको थियो।
प्रहरीका अनुसार मृतकमध्ये एक जना बन्दुकधारी पनि छन्। अर्को संदिग्ध आक्रमणकारी गम्भीर अवस्थामा रहेको बताइएको छ। गोलीकाण्डमा दुई जना प्रहरी अधिकारीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन्। हाल करिब ४० जना अस्पतालमा उपचाररत छन्।
गोली चलेको सूचना पाएपछि न्यु साउथ वेल्स प्रहरीले तत्काल अपरेसन सुरु थालेको थियो। न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बोन्डी बीच क्षेत्रमा ठूलो स्तरको प्रहरी अपरेसन जारी रहेको जनाएको छ। प्रहरीले घटनास्थल वरपर नजान र सबै निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा पुलबाट दुई जना बन्दुकधारीले पार्कतर्फ लगातार गोली प्रहार गरेको देखिन्छ।
अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार प्रहरीले ‘एक्टिभ सुटर’को सूचनामा आधारित भएर कारबाही गरिरहेको छ। स्थानीय सञ्चारमाध्यम सेभेन न्यूजका अनुसार गोलीको आवाजपछि सयौँ मानिस समुद्र तटबाट भाग्दै गरेको दृश्य देखिएको थियो।
घाइतेको उपचारमा रगत अभाव
यसैबीच, घाइतेहरूको उपचारका लागि सिड्नीका अस्पतालमा रगतको अभाव देखिएपछि लाइफ ब्लड अष्ट्रेलियाले ‘ओ’ नेगेटिभ रगतको आपतकालीन माग गरेको छ।
सिड्नीका बासिन्दालाई रक्तदान गर्न आग्रह गरिएको छ। अत्यधिक चापका कारण लाइफ ब्लडको वेबसाइटमा अस्थायी प्राविधिक समस्या आएको जनाइएको छ।
घटनाको अनुसन्धान जारी रहेको र मृतक तथा घाइतेको विवरण अद्यावधिक हुने प्रहरीले जनाएको छ।