भक्तपुरमा आजनै फूलपाती भित्र्याइँदै

HTV Khabar २३ अशोज २०८१, बुधवार ०६:१७ मा प्रकाशित

काठमाडौं,  भक्तपुरमा यस वर्षको फूलपाती भोलि नै भित्र्याइने भएको छ। नेपाल पंचाङ्ग निर्णायक समितिले असोज २४ गते फूलपाती भित्र्याउने निर्णय गरेपनि भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी, आचाजु जोशीलगायत सरोकारवाला निकायसँग बैठक बसी आजनै फूलपाती मनाउने निर्णय गरेको हो।

नगरभित्र आजदेखि मोहनी नख र विजया दशैँको सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। यस्तै असोज २४ गते कुलछि भोय्, २५ गते ताँःपूजा र २६ गते विजया दशमी पूजा गरी मनाइने भएको उनले बताए।

भक्तपुरमा तलेजुको निर्णय अनुसार विभिन्न चाडपर्व मनाउदै आइएको छ। भक्तपुरको तलेजुका मूल पुजारी र नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले असोज २३ गते फूलपाती भित्राउने निर्णय यस अघि नै गरेका थिए।

बैठकले २०८१ आश्विन २३ गते बुधवार बिहान ७:३४ बजेदेखि सप्तमी तिथि लाग्ने हुँदा फूलपाती मनाउने, आश्विन २४ गते विहिवार बिहान ७ : २७ बजेदेखि अष्टमी तिथि लाग्ने हुँदा अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रवार बिहान ६:५२ बजेदेखि नवमी तिथि लाग्ने हुँदा महानवमी पूजा (स्याक्व् त्याक्व्), (ताँ : पूजा) गर्ने र आश्विन २६ गते शनिवार विजया दशमी पूजा गर्ने निर्णय गरेको छ।