काठमाडौं, काठमाडौं क्षेत्र नं.-४ मा विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा सहयोग गर्नका लागि विशेष टास्क फोर्स गठन गरिएको छ।
नेपाली काङ्ग्रेस बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ को पूर्ण भेलामा महामन्त्री गगन थापाले निर्देशन दिएअनुसार पूर्व क्षेत्रीय सभापति नुच्छेनारायण श्रेष्ठको संयोजनमा १५ सदस्यीय क्षेत्रीय स्तरको टास्क फोर्स गठन भएको हो।
काठमाडौं ४ का क्षेत्रीय सभापति श्यामकृष्ण संगतको सभापतित्वमा क्षेत्रीय कार्यालयमा भएको बैठकद्वारा बागमती प्रदेशसभा सदस्य मीना पराजुली लगायत क्षेत्रीय कमिटी, प्रदेश कमिटी र नगर कमिटीका प्रतिनिधिसहित १५ सदस्य रहने निर्णय भएको काठमाडौं प्रदेश 'ख' का सभापति रामप्रसाद लुइँटेलले एचटिभी खबरलाई बताएका छन्।
वडास्तरमा पनि छिट्टै समिति गठन गरिने नेपाली काङ्ग्रेस वडा नं.११ इकाई सभापति राधेश्याम कार्कीले जानकारी दिए। यो टास्क फोर्सले स्थायी रूपमा जनतासँग जोडिएर विकास निर्माणमा सहयोग गर्ने र विपद्को बेलामा विपद् व्यवस्थापनमा सक्रियतापूर्वक काम गर्ने पनि कार्कीले बताए।