एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन्।आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन्।
अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ। रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्। उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उम्मेदवारको रूपमा समर्थन गरेका छन्।
‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। मैले फेरि चुनाव लड्ने मनसाय राखेको भए पनि आफ्नो उम्मेदवारी फिर्ता लिई आफ्नो कार्यकालको बाँकी अवधिमा राष्ट्रपतिको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान केन्द्रित गर्नु नै मेरो पार्टी र देशको हितमा हुने विश्वास लिएको छु,’ उनले भनेका छन्। उनले यसै साता राष्ट्रका नाममा सम्बोधन गर्ने उल्लेख गरेका छन्।