काठमाडौं, मोटरसाइकलमा राखेर गाँजा ओसारपसार गर्दै गरेका दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ डुम्रेखाँडीका ३३ वर्षीय वीरबहादुर तमाङ र ३१ वर्षीय हीरालाल तमाङ रहेका छन्।
चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार भण्डरा–मलेखु सडकखण्ड अन्तर्गतको पहाडी क्षेत्र डुम्रेखाँडीबाट गएराति करिब १ बजे उनीहरूलाई पक्राउ गरिएको हो। गाँजा बोकेका दुई वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउका क्रममा दुई वटा मोटरसाइकलमा राखिएको १२४ केजी गाँजा बरामद गरिएको हो। डिएसपी खनालका अनुसार चितवन प्रहरीले मंसिर १ गतेदेखि लागुऔषध नियन्त्रणका लागि ‘अप्रेशन डेल्टा’ सञ्चालन गरिरहेको छ।
सो अभियानअन्तर्गत पुस २० गतेसम्म ३१ केजी गाँजा, ९ ग्राम चरेस, २०२ ग्राम खेरोहिरोइन, ५ हजार १२८ क्याप्सुल ट्रामाडोल, तथा डाइजेपाम, फेनारगन र नुर्फिनका १३१–१३१ एम्पुल बरामद गरिएको छ।