अष्ट्रेलियालाई चार विकेटले हराउँदै भारत आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा

HTV Khabar २१ फाल्गुन २०८१, बुधवार ०९:४३ मा प्रकाशित

काठमाडौं, भारत अष्ट्रेलियालाई चार विकेटले पराजित गर्दै आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश गरेको छ।

भारतको जितमा विराट कोहलीले उत्कृष्ट इनिङस खेले। भारतको जितसँगै फाइनल खेल पाकिस्तानमा नभएर दुबइमा हुने निश्चित भएको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा अल आउट भयो। ओपनर कुपर कोनोलीलाई मोहम्मद सामीले खाता खोल्न दिएनन्।

भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने परिचय बनाएका ट्राभिस हेड ठुलो स्कोरतर्फ अघि बढ्ने संकेत गरेका थिए। उनलाई वरुण चक्रवर्तीले पभेलियन फर्काए। ३९ रन बनाएका हेडको क्याच शुभमन गिलले लिएका थिए। मार्नस लावुसेनले २९ रन जोडे । जोस इंग्लिस ११ रनमा मैदान बाहिए । एक समय अस्ट्रेलिया १ सय ९८ रन चार विकेटको बलियो स्थितिमा थियो। तर कप्तान स्टिभन स्मिथलाई सामीले आउट गर्दै भारतलाइ खेलमा फर्काए।

स्मिथले सर्वाधिक ७३ रन जोडे। ग्लेन म्यासवेलले ७ र बेन डरस्विसले १९ रन बनाए। एलेक्स क्यारीले ६१ रन जोडेपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो। सामी सबैभन्दा किफायती सावित भए। उनले दश ओभरमा ४८ रन खर्चिएर तीन विकेट लिए।

वरुण र रविन्द्र जडेजाले दुई दुई विकेट बाँडे । जवाफमा भारतको सुरुवात राम्रो हुन सकेन् । गिल ११ र रोहित शर्मा २८ रनमा आउट भएका थिए। तर कोहली र श्रेयस ऐअरले इनिङस सम्हाले। श्रेयसले ४५ रन जोडे। अक्सर पटेलले २७ रन थपे । कोहलीले ९८ बलमा ८४ रनको महत्वपुर्ण इनिङस खेले। उनले पाँच चौका प्रहार गरेका थिए।

हार्दिक पान्डेयाले २८ रन जोड्दा केएल राहुल ४५ रनमा अविजीत रहे। नाथन एलिस र एडम जाम्पाले दुई दुई विकेट लिए। योसंगै भारतले ओडिआइ विश्वकप फाइनलमा बेहोरेको हारको बदला पनि लियो। अब उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका बीचको विजेतासंग खेल्नेछ। यी दुई बीचको सेमीफाइनल पाकिस्तानको लाहोरमा नेपाली समय अनुसार आज दिउँसो पौने ३ बजे हुनेछ।