काठमाडौं, एचआरडिसी हस्पिटल काभ्रेलाई रोटरी क्लब अफ पशुपति काठमाडौंले ग्लोबल ग्रान्ट प्रदान गरेको छ। जसबाट ६५० जना अपाङ्गता (फरक क्षमता) भएका बालबालिकाको उपचार गरिनेछ।
आज बुधवार एक कार्यक्रमका बीच रोटरी क्लव अफ पशुपतीको सहयोगमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (एचआरडिसी) मा देशभरका ६ सय ५० जना फरक क्षमता (अपाङ्गता) भएका बालबालिकाहरुको औपचारीक निशुल्क उपचार शुरु भएको हो।
अस्पतालका संस्थापक प्रा.डा.अशोक कुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, रोटरी क्लवका डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद धोँजुको उपस्थिति रहेकोे थियो।
त्यस्तै बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, स्वास्थ्य कार्यालय प्रमुख रागी श्री श्रेष्ठ, वडा अध्यक्षहरु चन्द्रबहादुर खड्का र शिव थापा, अस्पतालका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो।
त्यस्तै रोटरी क्लव अफ पशुपतीका अध्यक्ष सूर्यबहादुर अधिकारी, रोटरी क्लव अफ पशुपतीका पूर्वअध्यक्ष शशिराज पाण्डे, रोटरीयनहरु एमके झा, राजेन्द्रमान श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सबैले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रले पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए।
२००८ देखि रोटरी क्लवसँगको सहकार्यमा उक्त अस्पतालले नेपालका विभिन्न क्षेत्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुको उपचारमा सहयोग पुर्याएको सोहि अवसरमा जानकारी गराईएको थियो।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा.विवेक बाँस्कोटाले अस्पतालले मोवाईल क्याम्प मार्फत देशका सबै जिल्ला र क्षेत्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुको खोजविन सहितको उपचार गरिएको बताए। १९८५ मा स्थापना भएको अस्पतालले ४० वर्षको अवधीमा १ लाख १० हजार बालबालिकाहरुको उपचार गराएको छ भने ५० हजार बालबालिकाहरुको जटिल अप्रेसन गरेको छ।
९५ हजार वटा कृत्रिम तथा सहायता सामाग्री निर्माण गरी बालबालिकाहरुलाई उपलब्ध गराएको छ। बालबालिकाहरुले उपचार पाए पछि उनीहरुको सामाजिक, आर्थिक तथा व्यक्तिगत र पारिवारीक संरचनामा आएको बदलाव र उनिहरुमा देखिएको खुशीको कल्पना समेत गर्न नसकिने जानकारी गराईएको थियो।
अस्पतालले उपचार गराएर निको भएका २८ जना बालबालिकाहरुलाई अस्पतालका विभिन्न स्थानमा रोजगार समेत उपलब्ध गराएको छ। शिक्षा समेत उपलब्ध गराउँदै आएको अस्पतालको मुख्य उदेश्य नेपाल जस्तो ग्रामिण परिवेश, चेतनाको स्तर कम भएका जिल्ला तथा स्थानहरुमा पुगेर अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गर्ने, उपचार गर्ने र समुदायमा पुनस्र्थापना गर्ने रहेको कार्यकारी निर्देशक बाँस्कोटाले बताए।
रोटरी क्लव अफ पशुपतीका अध्यक्ष सूर्यबहादुर अधिकारीले कार्तिक महिना भित्र अस्पतालले ६ सय ५० जना बालबालिकाहरुको निशुल्क उपचार g गर्ने एचटिभी खबरलाई बताएका छन्।