काठमाडौं, सवारी लाइसेन्सको अवधि अब १० वर्ष हुने भएको छ ।सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ। यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो। प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था छ। यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए।
समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो। मङ्गलवार प्रतिनिधि सभाले पारित गरेको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ।