रविको पक्षमा बाबुरामले गरे हस्ताक्षर

HTV Khabar १४ असार २०८२, शनिबार ०६:३६ मा प्रकाशित

काठमाडौं,  पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा शनिवार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेर हस्ताक्षर गर्दै उनले ऐक्यबद्धता जनाएका हुन्।

रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ।रास्वपा सहकोषाध्यक्ष दिपक बोहोराले डा.भट्टराईले शनिवार पार्टी कार्यालय पुगेर हस्ताक्षर अभियानमा साथ दिएको जानकारी गराएका छन्।

यसअघि गत २१ मंसिरमा पनि भट्टराईले हिरासत पुगेर लामिछानेसँग भेटवार्ता गरेका थिए। त्यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दु:ख दिने काम भइरहेको बताएका थिए।

साथै, उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाएका थिए।