दु:खद ! छात्रावासमा बसेका छोराको हत्याको खबर सुनेपछि आमाको पनि मृत्यु

HTV Khabar ७ भाद्र २०८३, आइतबार ०८:४० मा प्रकाशित

काठमाडौं,  काठमाडौंमा अध्ययनरत २२ वर्षीय छोराको हत्या भएको खबर सुनेको केही घण्टामै दाङमा उनकी आमाको पनि मृत्यु भएको छ।

छोराको हत्याको खबरले विक्षिप्त बनेकी घोराही उपमहानगरपालिका–१७ की ३८ वर्षीया बिना कालाथोकीको शनिवार दिउँसो मृत्यु भएको हो।

काठमाडौं महानगरपालिका वडा नं.-१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रवार कुटपिट तथा धारिलो हतियार प्रहारबाट घोराही–१७ का २२ वर्षीय वसन्त कालाथोकीको हत्या भएको थियो।

छोराको हत्या भएको खबर शनिवार दिउँसो पाएपछि आमा बिना घरमै एक्लै थिइन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार छोराको हत्याको खबर सुनेपछि दिउँसो करिब ३ बजेतिर बिनाको घरमै मृत्यु भएको हो।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट चौघेराबाट प्रहरी सहायक हवल्दार अमर गैह्रेको कमान्डमा दुई जना तथा जिल्ला प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक एक्कबहादुर नेपालीको कमान्डमा पाँच जना प्रहरी घटनास्थल पुगेका थिए।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार पारेपछि बिनाको शव पोस्टमार्टमका लागि बेलुकी करिब ४ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो। शव हाल प्रतिष्ठानको शवगृहमै राखिएको छ।

वसन्त परिवारका जेठा छोरा थिए। उनको मृत्युपछि ११ वर्षीय कान्छा छोरा शिशिरलाई हजुरबुबाले आफ्नो घरमा लगेर राखेका छन्।वसन्त रोजगारीका लागि फ्रान्स जाने तयारीमा थिए।

त्यसका लागि उनी करिब पाँच–छ महिनादेखि काठमाडौंमा होस्टलमा बसेर भाषा अध्ययनलगायत आवश्यक तयारी गरिरहेका थिए। अध्ययनका क्रममा उनी दाङस्थित घरमा पनि आउने–जाने गर्दै आएका थिए।

यसैबीच, वसन्तको हत्या आरोपमा प्रहरीले होस्टलमै बस्दै आएका बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दुवै जनाले वसन्तको टाउको, घाँटीलगायत शरीरका विभिन्न भागमा कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए। वसन्तको हत्या र त्यसको खबरपछि आमाको समेत मृत्यु भएपछि परिवारमा एकैदिन ठूलो बज्रपात परेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।