दुई पाङ्ग्रे सवारीसाधनको सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण सेवा यातायात कार्यालय एकान्तकुना ललितपुरबाट सुरु गरिएको छ।
२२औं निजामती सेवा दिवसको अवसरमा सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाबाट आज आईतवार आयोजित कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले ब्लुबुक नवीकरण सेवाको उदघाटन गरेका छन्।
मन्त्री थापाले यातायात व्यवस्था क्षेत्रमा प्रविधिमैत्री र सहज सेवाको आवश्यकता औँल्याउँदै नयाँ सुविधा सञ्चालनमा आएपछि सेवाग्राहीलाई एउटै कामका लागि फरक–फरक कार्यालय धाउनुपर्ने बाध्यता हट्ने बताए।
समय, खर्च र प्रक्रियामा सहजता ल्याउने उनको विश्वास छ। साथै मन्त्रालयले छिट्टै यस कार्यालयमार्फत सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण सेवा पनि सुरु गर्ने तयारी गरिरहेको मन्त्री थापाले जानकारी दिए।
कार्यालय प्रमुख केशवकुमार जिएमका अनुसार उपलब्ध दरबन्दीअनुसार कर्मचारी परिचालन गरी दैनिक १ हजार ५०० देखि २ हजार जना सेवाग्राहीलाई सेवा दिन सकिने व्यवस्था मिलाइएको छ।
हाल कार्यालयले दैनिक करिब २०० देखि ३०० सवारी चालक अनुमतिपत्र नवीकरण गर्दै आएको र त्यति नै संख्यामा नयाँ अनुमतिपत्रको आवेदन दर्ता गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिएका छन्।