प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

HTV Khabar १० पौष २०८०, मङ्गलबार ०२:१४ मा प्रकाशित
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लागेका हुन्। साँझ ५ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री दाहालले एक वर्षमा आफूले गरेका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्नेछन्। दाहालले प्रधानमन्त्री भएदेखि नै देशमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका थिए। तर सुशासन र अर्थतन्त्र सुधारका कार्यमा भन्दा पनि सत्ता टिकाउनमै उनी बढी केन्द्रित हुँदा नागरिकमा निराशा बढ्दै गएको छ।


दाहालले प्रधानमन्त्री हुँदा गरेका प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा उनको तेस्रो पटकको सत्ता यात्रा पनि आलोचनारहित बन्न नसकेको टिप्पणी हुने गरेको छ।


दाहाल गत वर्षको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। पुस ११ गते शपथ ग्रहण गरेका थिए। त्यसअघि उनी २०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म पहिलो पटक प्रधानमन्त्री भएका थिए। यस्तै, २०७३ साउन २० देखि २०७४ जेठ २४ गतेसम्म दोस्रो पटक प्रधानमन्त्री भएका थिए।