बूढानीलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेला भोलिदेखि शुरु

HTV Khabar ३१ माघ २०८१, बिहीबार १२:०६ मा प्रकाशित

काठमाडौं,  बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा भोलि फागुन २ र ३ गते  रोजगारी तथा वृत्ति मेला सञ्चालन हुनलागेको छ।

शिक्षा, सिप र उद्यमशीलता; रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको नगरपालिकाले यसपालिको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको छ। पहिलोदेखि तेस्रो वृत्ति मेलामा समेत रोजगारी एवंं युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको थियो। यस अवधिका तीन ओटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाहरुको तथ्याङ्क सङकलन गरिएको थियो।

तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरुले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलन समेत गरिएको थियो। माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई १० महिने सिनियर प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ। यसै गरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ।

रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याईएको छ। शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ। सयौँको सङ्ख्यामा रोजगारदाता र बेरोजगार युवाहरुबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ। यस अघि सम्पन्न तीन वटै वृत्ति तथा रोजगार मेलामा विद्यार्थी, युवा र गृहणी महिलाहरुको आकर्षणको केन्द्र बनेको आम अनुभूति रहन गएको छ।

यस पहिलेका वृत्ति तथा रोजगार मेलाको सफलताबाट उत्साहित नगरपालिकाले चौथो रोजगार तथा वृत्ति मेलालाई अझ विशेष बनाउन नगर प्रमुख  मिठाराम अधिकारी संयोजक र उपप्रमुख  अनिता लामा सहसंयोजक रहने गरी मूल आयोजक समिति गठन गरेर कार्यक्रम अघि बढाईएको छ।

मूल आयोजक समितिमा नगरस्तरीय उद्योग वाणिज्य संघका साथै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई समेत समावेश गरिएको छ। निजी क्षेत्रलाई मेलामा स्वःस्फूर्त सहभागिता गराउन विभिन्न चरणमा छलफल गराउनुको साथै उद्यम तथा व्यवसायको घरदैलोमा गई मेलामा सहभागीताका लागि प्रोत्साहन गरिएको जनाइएको छ।

मेलामा बढी भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको छ। मेलामा कुल ४२ वटा स्टल रहने र उक्त ४२ स्टल मध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवद्र्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरु रहने छन्। यस चौथो रोजगार तथा वृत्ति मेलामा २५ हजार भन्दा वढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौ बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ।

मेलालाई पूर्ण रुपमा सफल बनाउन विभिन्न उपसिमिति गठन गरी क्रियाशील बनाइनुका साथै नगरपालिका भित्रका बेरोजगार युवाहरुलाई यस मेला मार्फत दिगो रोजगारीमा जोड्ने अभिष्ट राखी बेरोजगार युवाहरुको तथ्याङक सङकलन कार्यलाई समेत यस वर्ष पनि निरन्तरता दिइएको छ।

यस नगरपालिकामा स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४० वर्षसम्मका बेरोजगार युवालाई यही माघ मसान्त भित्र अनलाइन मार्फत वा सम्बन्धित वडा कार्यालयमा गएर फर्म भर्न नगरपालिकाले आह्वान गरेको छ। यस रोजगार तथा वृत्ति मेलामा बुढानीलकण्ठ नगरपालिकामा दर्ता रहेका दश हजार व्यावसायिक फर्महरुलाई मेलामा आमन्त्रण गरिएको छ।

मेलामा कम्तीमा १०० जनालाई मेला अवधिमा नै रोजगारीमा जोड्ने, २०० जनालाई इन्टर्नका लागि तयार गर्ने, १५० जनाका लागि साइकोमेट्रिक टेष्ट, औद्योगिक प्रशिक्षार्थी स्किल कम्पिटिसन, विद्यार्थीका अभिभावकलाई समेत करियर सम्बन्धी काउन्सेलिङ, १०० जना युवालाई सिंगल काउन्सेलिङ, ४०० जना युवाहरुलाई सामुहिक काउन्सेलिङ लगायतका कार्यक्रम राखिएको छ।

यही फागुन २ गते शुक्रवार बिहान ९ः०० बजे नगरपालिकाको प्राङ्गणमा आयोजना हुने कार्यक्रमको नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईले समुदघाटन गर्नेछिन भने प्रतिनिधि सभा सदस्य माननीय  गगन कुमार थापा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय हरिप्रभा खड्गी, खानेपानी, उर्जा तथा सिचाइ मन्त्री माननीय  श्याम बहादुर खड्का, बागमती प्रदेश सभाका सदस्य माननीय  जयराम थापा र  मिना पराजुलीलाई विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्। 

यसका साथै काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, प्रमुख जिल्ला अधिकारी र काठमाण्डौ उपत्यकाका सबै पालिकाका प्रमुख/उपप्रमुख  शिक्षा विभाग/महाशाखा/शाखा प्रमुख लगायतलाई कार्यक्रममा आमन्त्रण गरिएको छ।  बूढानीलकण्ठ नगरपालिकाको कार्यालय प्राङ्गणमा आयोजना हुन गइरहेको यस कार्यक्रममा बागमती प्रदेशको शैक्षिक तालिम केन्द्र, धुलिखेलको आर्थिक सहयोग र हेल्भिटास इन्स्योर परियोजनाको प्राविधिक सहयोग रहेको छ।