नगरभित्र रहेका बजारको अनुगमनमा गोकर्णेश्वर नगरपालिका जुटेको छ। यसक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाको नेतृत्वमा रहेको अनुगमन टोलीले विहिवार नगरको वडा नं. ८ मा संचालित विभिन्न पसलहरुको अनुगमन गरेको हो।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, लेखा शाखा प्रमुख रामजी रायमाझी, प्रशासन शाखा प्रमुख भुपेन्द्र बोहोरा, स्वास्थ्य कर्मचारी नवराज बगाले, वडा सचिव सुदीप हमाल नगर प्रहरी लगायतको टोलीले उक्त क्षेत्रमा संचालित मासु पसल डिपार्टमेन्ट स्टोर, रेस्टुरेन्ट लगायतका पसलहरुको अनुगमन गरेको छ।
अनुगमनका क्रममा व्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य बस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिद देखी बिक्री मुल्य समेत हेरेर कैफियत देखिए तत्कालै कारवाही समेत गरिएको वडा अध्यक्ष नन्दलाल श्रेष्ठले बताए।
बजारमा कालोबजारी हुन नदिने र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामाग्री उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नुका साथै व्यवसायीहरुलाई करको दायरामा ल्याउन पनि नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिइ रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी गराए उनले वडाका अन्य स्थानको पनि बजार अनुगमन गर्दै जाने बताएका छन्। ।
बजारमा अखाद्य सामग्री बिक्री गरी उपभोक्ता ठग्नेहरुमाथी कारवाही गर्दै जाने समेत उनले जानकारी गराएका छन्।