काठमाडौं, जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा भएको आगजनी, लुटपाट र प्रहरी हत्या घटनामा संलग्न एक युवकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोजपुरको साल्पा सिलिचो गाउँपालिका–२, दोभाने निवासी ३६ वर्षीय इन्द्रबहादुर राईलाई शनिवार सामाखुसी चोकबाट नियन्त्रणमा लिइएको हो। हाल उनी काठमाडौं महानगरपालिका–१६, पवित्रनगरमा बस्दै आएका थिए।
राईको डेरामा खानतलासी गर्दा प्रहरीले टाइप–५४ पेस्तोल, म्याग्जिनमा रहेका ७ राउन्ड गोली, आन्दोलनको दिन लगाएको कपडा र जुत्ता बरामद गरेको जनाएको छ।
गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा भीडले आगजनी र लुटपाट गरेको थियो। योसँगै प्रहरीको हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ।जसमध्ये सात जना पुर्पक्षका लागि थुनामा छन्।
भदौ २४ गते महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या भएको थियो।