रुपन्देही, रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो।
प्रहरी कार्यालय रुपन्देहीले टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको र घटनामा संलग्नहरूको खोजी जारी रहेको बताएको छ।
प्रहरीका अनुसार मृतक किशोर बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका थिए। खोजी गर्दै जाँदा बिहीबार साँझ करिब ६ बजे तिर स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो।
इलाका प्रहरी कार्यालय रूद्रपुरको टोलीले शवको मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि बुटवल पठाएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।ईशान स्थानीय अर्जुन र रमा शर्मा पौडेलका एक मात्र छोरा हुन्। उनी स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए।